
झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्न ज्ञानघर निर्माण सुरु गरेको छ । शिवसताक्षी-७ स्थित ब्याङडाँडामा आज एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ थोप्रो (रोशन)ले विभिन्न पुस्तक प्रदान गरेर ज्ञानघरको उद्घाटन गर्नुभयो । उहाँले भविष्यमा नगरका अन्य स्थानमा पनि ज्ञानघर निर्माण गरिने योजना रहेको बताउनुभयो ।
नगरपालिकाको रु चार लाख र अन्य दाताको आर्थिक सहयोग तथा स्थानीय गोर्खाली हर्ट क्लबको संयोजनमा ज्ञानघर निर्माण सुरु गरिएको क्लबका अध्यक्ष विजय लिम्बूले बताउनुभयो । यसै वर्षदेखि माइधार र धरमपुरमा पनि ज्ञानघर सञ्चालन गरिने र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञानघर निर्माण गरिने नगरपालिकाको भनाइ छ ।
कार्यक्रममा शिवसताक्षी-७ का वडाध्यक्ष भवानीविक्रम चेम्जोङले ज्ञानघर निर्माण नगरकै मात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको बताउनुभयो । उहाँले ज्ञानघरबाट सबै उमेर र समूहका नागरिकलाई फाइदा लिनसमेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया