
काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै आमन्त्रित टोली लेबनान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको छ ।
बैंगलुरुको श्री कान्तिरवा स्टेडियममा लेबनानलाई जिताउन कप्तान हसन मातोउकले निर्णायक गोल गरे ।
समूह बी मा तीन खेल जितेको लेबनानले ९ अंक जोड्यो । अब लेबनानले समूह ए को उपविजेता बनेको भारतसँग खेल्नेछ ।
अर्को आमन्त्रित टोली कुवेतसँग समान अंक भए पनि गोल अन्तरका आधारमा कुवेत अगाडि रहँदा भारत समूह ए को उपविजेता बनेको थियो ।
अर्को सेमिफाइनमला कुवेतले समूह बी को उपविजेतासँग खेल्नेछ । बंगलादेश र भुटानबीच बुधबार राति हुने खेलपछि समूह बी को उपविजेताको टुङ्गो लाग्नेछ र सेमिफाइनल समीकरण पूरा हुनेछ ।
बंगलादेशले भुटानसँग बराबरी खेलेमा उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ भने माल्दिभ्स र भुटान बाहिरिनेछन् ।
भुटानलाई सेमिफाइलनमा पुग्न बंगलादेशसँगको खेल ४ गोल भन्दा बढीको अन्तरले जित्नु पर्छ । ३ गोल वा त्यो भन्दा कम अन्तरले भुटान विजयी भएमा भने माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ ।
नेपाल र पाकिस्तान समूह ए बाट यसअघि बाहिरिसकेका छन् ।
प्रतिक्रिया