
दाङमा एक ब्यक्तिलाई हनि ट्रयापमा पार्ने तीनजना पक्राउ परेका छन्। प्रहरीले हनि ट्रयापमा पार्ने गढवा गाउँपालिका घर भई हाल तुलसीपुरमा बसोबास गर्दै आएकी अनुष्का सिंह भनिने कृष्णा गहतराज, तुलसीपुर ग्वार खोला बस्ने कृष्णा कुमारी बस्नेत र नारायणपुरका रुद्र बहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यो घटनाका मुख्य योजनाकार कृष्णा गहतराज हुन्।
प्रहरीका अनुसार गहतराजले एक पुरुषसंग ब्यक्तिगत सम्बन्ध राखेको र उनले पनि ती पुरुषसंग मोटो रकम माग गर्दै आएकी थिइन्। लामो समयदेखि आफूसंग मोटो रकम माग गरेर मानसिक यातना दिएको भन्दै ति पुरुषले प्रहरीमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा प्रहरीले गहतराजसहित उनका दुई सहयोगीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गहतराजले आफ्ना दुई सहयोगी मार्फत ती पुरुषसंग मोटो रकमको बार्गेनिङ गर्दै आएकी थिइन्। साथै प्रहरीले यो घटनाका मुख्य दोषी गहतराजले पीडित पुरुषसंग लामो समय देखि मोटो रकम असुल्ने गरेको समेत जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन गौतमका अनुसार ति पुरुषले गहतराजलाई पहिलो पटक १४ लख रुपैयाँ दिएका थिए।
त्यो बेखत गहतराजले आफूलाई रकम नदिए बलात्कार मुद्धा हाल्ने भन्दै धम्की दिएकी थिइन्। त्यसपछि पुनः नेपालगञ्जमा ती पुरुषले थप १२ लाख रुपैयाँ दिएर अब उप्रान्त सम्बन्धमा पनि नरहने र बार्गेनिङ नगर्ने लिखित कागज समेत भएको थियो। ‘बलात्कार मुद्धा हाल्छु भनेर उजुरी कागज देखाउने धम्की दिने काम पहिलेदेखि हुँदै आएको रहेछ,’ डिएसपी गौतमले भने ‘यो धम्कीकै कारण पिडित पुरुषले एक पटक १४ लाख र अर्को पटक १२ लाख रुपैयाँ पनि दिएको खुलेको छ।’
सम्बन्धमा नरहने भनेर वकिल राखेरै कागज गरिएको भएपनि गहतराजले पछि परिवारलाई मानसिक तनाव दिन थालेकी थिइन्। पछिल्लो समय गहतराजले ५ करोड रुपैयाँ माग गरेकी थिइन्। ‘पीडित पुरुषको परिवालाई धम्की दिएर ५ करोड रुपैयाँ माग गरेको देखिन्छ,’ गौतमले भने ‘पीडित पुरुषकी छोरीलाई म्यासेज गरेर ५ करोड रुपैयाँ मागेको र नदिए ज्यान मार्ने धम्की दिएको देखिएको छ।’ गौतमका अनुसार सुरुमा पीडित पुरुषले परिवारमा यो घटना थाहा नहोओस् भन्ने उदेश्यले दुई पटक मोटो रकम दिएका थिए। तर पछि गहतराजले परिवारका सदस्यलाई नै धम्की दिएर रकम बार्गेनिङ गर्न थालेपछि ति पुरुषले प्रहरीमा उजुरी दिएका थिए। ‘पीडित पुरुषले थेगुन्जेल सम्म रकम दिएको देखिएको छ,’ गौतमले भने ‘तर झन पछि झन मोटो रकम माग्न थालेपछि आजित भएर प्रहरी कहाँ आइपुगेको देखिन्छ।’
हनि ट्र्यापमा पर्ने गहतराज सहित तीनजनालाई प्रहरीले आपराधिक लाभ कसुर अन्तर्गत मुद्धा दर्ता गरेको छ।
प्रतिक्रिया