
पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लामा बिरामीको आकर्षण बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो।
आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि जुम्लामा भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ।
दैनिक जसो सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक उपचारका लागि आउने गरेको आयुर्वेद जिल्ला स्वास्थ्य केन्द्र जुम्लाले जनाएको छ। बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ। उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले रोग अनुसारको उपचार पद्धति अपनाइएको छ।
आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार अहिले २३ प्रकारका औषधी पाइन्छन्। आयुर्वेद उपचार प्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख नन्द प्रसाद न्यौपानेले बताए।
‘पछिल्लो समय आयुर्वेदिक उपचारमा स्थानीयवासीको चाप बढेको छ,आयुर्वेदिक औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो। उनले भने।
‘उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी छन्। उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ।’ उनले थपे।
स्थानीय स्तरमै पाइने विभिन्न जडीबुटीबाट औषधि तयार गरिने भएकाले यी औषधि स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ।
सिंजा ६ कि जुनमाया रावतले ठुला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको अनुभव सुनाइन्।
स्वास्थ्य केन्द्रमा बाथ रोग, हाडजोर्नी, अम्लपित्त, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढ्न थालेका छन्।
आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको सिंजा ६ का बिरामी वीर बहादुर रोकायाले बताए। ‘मेरो ग्यास्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउन गए, त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमित रुपमा यहाँ आएर उपचार गराइरहेको छु, अहिले सुधार भइरहेको छ, पहिला खानामा रुचि हुँदैन थियो, खानपिन रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ।’ उनले भने।
कार्यालयबाट ओपिडी सेवा, बाफ लिने सेवा,ज्येष्ठ नागरिक सेवा, ल्याब सेवा, औषधि वितरण, स्तनपायी आमाका लागि (सुत्केरी आमा छ महिनासम्म) दुग्धवर्धक औषधी सेवा लगायतका सेवाहरू प्रवाह भइरहेको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँमा रहेको छ।
प्रतिक्रिया