प्रतिपक्षीहरु आक्रामक, अधैर्य र अपरिपक्व छन् : रमेश लेखक

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व भएको स्पष्ट पारेका छन् ।

कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।

आज सुरु केन्द्रीय कार्यसमिति बैठकमा लेखकले भने, ‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । अरु प्रतिपक्षीहरु आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन् ।’

लेखकले रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीहरुलाई संकेत गर्दै उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्न सक्ने बताए ।

लेखकले पोहोर मंसिरको चुनावमा कांग्रेसलाई पहिलो बनाएको भन्दै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए । नेतृत्वले कुशलतापूर्वक एमाले–माओवादी गठबन्धनलाई विस्थापित गरेको अर्थ लगाउँदै लेखकले पहिलो दल भएको हुनाले सत्ता गठबन्धनमा हुनु स्वभाविक भएको दाबी गरे।

प्रतिक्रिया