
काठमाडौं । नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण उक्त जहाज ग्राउन्डेड भएका हुन्।
यसमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको उनले बताए । निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेएक्सको भने बायाँ इन्जिनमा समस्या देखिएको छ । अहिले देखिएको समस्याका बावजुत यो जहाजले १० साइकल उडान भने गर्न सक्ने क्षमता थियो । त्यसमध्ये ६ साइकल उडानपश्चात इन्जिनको मर्मतमा जाने उडान (४ साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।
यो जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको समेत निगमले जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल ४ वटा जहाज छन् । बाँकी २ जहाजबाट तालीका व्यवस्थापन गरिएको र उडानहरु भने पूर्वनिर्धारित रुपमा सूचारु रहेको निगमले जनाएको छ ।
प्रवक्ता पौडेलका अनुसार दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो ।
प्रतिक्रिया