दक्षिण कोरियालाई उपाधि

काठमाडौँ — दक्षिण कोरिया र यूएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् ।पुरुष फाइनलमा दक्षिण कोरियाले दशरथ रंगशालमा यूएईलाई २१–१७ स्कोरले पराजित गर्‍यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा यूएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेईले थाइल्यान्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेईले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्‍यो ।

महिलाको उपाधि भिडन्तमा यूएईले भारतको चुनौती २६–५ ले समाप्त पार्‍यो । मलेसिया थाइल्यान्डलाई १९–७ ले हराउँदै तेस्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे । नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो ।

प्रतिक्रिया