आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयँंगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे । महतले मुलुकभित्र प्राकृतिक प्रकोप लगायत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शीर्षकमा बजेट राखिएको पनि बताए ।

अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शीर्षकमा राखिएको बजेट पूर्णरुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे । उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकतामा राखिएको जिकिर गरे ।

अर्थमन्त्रीले लक्ष्य अनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केही मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको बताए ।

प्रतिक्रिया