
काठमाडौं । गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिएको छ ।
तीन भारतीय खेलाडी समावेश गरेको गण्डकीको टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएपछि फाइनल खेल्ने सम्भावना सकिएको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित हात पार्यो । गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२, दोस्रो खेलमा एीएफसँग ३–१ र तेस्रोमा आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
गण्डकी ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा रहेको छ । गण्डकीले अव बिहीबार शैलुङ र शुक्रबार दावाली मिलनसँग खेल्नेछ । ती दुवै खेल जितेर ६ अ्रक ल्याए पनि गण्डकी फाइनलमा पुग्ने छैन ।
७ टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने हुँदा गण्डकी दुई खेल अगावै लिगबाटै बाहिरिएको हो ।
हेल्प नेपालको भने गण्डकीलाई पराजित गरेसँगै फाइनल सम्भावना बलियो बनेको छ । हेल्प नेपाल ३ खेलमा ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ९ अंक भए पनि सेट प्वाइन्टको आधारमा शीर्ष स्थानमा छ ।
हेल्प नेपालले यसअघि शैलुङ र दावालीमाथि सोझो सेटमा जित हात पारेको थियो । हेल्प नेपालले अब तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया