
काठमाडौं । संसद्को जारी अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूबीच आज पनि छलफल हुँदैछ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको उक्त संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्न लागेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सोमबार दिउँसो १ बजे सिंहदबारमा छलफल गर्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो । तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो । तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।
गत १८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ ।
प्रतिक्रिया