
काठमाडौं, २४ असार । एक युवकले सामाजिक सञ्जालमार्फत केटी बनेर युवाहरूलाई ठगेको पाइएको छ ।
दुई जना पीडित युवाहरू प्रहरीकोमा पुगेपछि केटी बनेर ठगी गर्ने युवक संखुवासभाको चैनपुर स्थायी घर भई काठमाडौंको पुतलीसडक बस्ने २४ वर्षीय युवराज राउतको पर्दाफास भएको हो ।
युवराजले सामाजिक सञ्जालमा डा. एलिसा राउतको नामबाट फेक फेसबुक अकाउन्ट खोलेका थिए । उनले नक्कली एकाउन्टमा डिपेन्डेन्टमा क्यानडा जान चाहनेले इनबक्समा म्यासेज गर्नु भन्दै स्टाटस लेख्ने गरेको र युवाहरू क्यानडा जान पाउने लोभमा ठगिएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
उनले सामाजिक सञ्जालमार्फल कलमा कुरा हुँदा दुरूस्तै केटीको जस्तै आवाज निकालेर कुरा गर्ने गरेका थिए । उनले सामाजिक सञ्जालमा कुरा गर्दा केटीको आवाज निकाल्ने र आफू हाल क्यानडामा रहेको बताउने गरेका थिए । त्यसपछि उनले नेपाली मोबाइल नम्बर दिएर उनीहरुलाई युवराज आफ्नो भाई भएको र उसलाई सम्पर्क गर्न भन्दथे । जो भाई भनिएका उनी आफैँ थिए ।
क्यानडा लैजाने प्रलोभनमा उनले भाई युवराजको जन्मदिन पार्टी गरिदिनु भन्दै पीडितलाई दरबारमार्गको एक रेस्टुरेन्टमा जन्मदिन पार्टी आयोजना गरिदिन आग्रह गरेका थिए । त्यसयता केटी बनेर कुरा गर्ने व्यक्तिले भाइको नाममा पीडितलाई पैसा पनि जम्मा गर्न लगाएको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।
त्यसपछि डा. एलिसा राउत भन्ने व्यक्ति सम्पर्क बाहिर भएपछि पीडितहरुले आफू ठगिएको चाल पाएका थिए । उनीहरुले युवराजसँग पैसा फिर्ता मागेका थिए ।
बयानमा युवराजले आफूले नै डा. एलिसा राउतको नाममा नक्कली अकाउन्ट खोलेको र केटी बनेर आफैं कुराकानी गर्ने गरेको बताएका छन् ।
प्रतिक्रिया