प्रधानमन्त्री प्रचण्डको आग्रहमा संसद् बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठकको समय सारिएको छ । बैठकको समय दुई घण्टाका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख घिमिरेलाई टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेका थिए ।

“प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,” उनले भने, “टेलिफोन संवादमा सम्माननीय सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिनुभएको छ ।”

सदनको अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया