रास्वपा खहरेको भेल जस्तै हो, टिरिङ–टिरिङ घण्टीसँग डराउन पर्दैन : पद्मा अर्याल

पाल्पा । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको भेल जस्तै भएको बताएकी छिन् ।

नेकपा एमाले गुल्मीको आठौं पूर्ण बैठकलाई आज शनिबार सम्बोधन गर्दै उनले खहरेको भेल केही समयमा सुकेजस्तै गन्तव्यविहीन रास्वपा पनि केही समयपछि हराएर जाने बताएकी हुन् ।

‘मुलुकमा ठूलो परिवर्तनसँगै नयाँ नेतृत्व आउने हो । तर, रास्वपा त्यस्तो अवस्था वा कुनै युद्धबाट जन्मिएको पार्टी पनि होइन,’ सचिव अर्यालले भनिन्, ‘रास्वपासँग कुनै विचार र सिद्धान्त नै छैन । कहाँ पुग्ने हो गन्तव्यको टुंगो छैन । बर्खामा आएजस्तो खहरेखोला जस्तै हो, सररर आउँछ अनि सुकेर जान्छ ।’

राजनीतिक पार्टी विचार, सिद्धान्त र दर्शनले चल्ने भएको भए पनि रास्वपा हल्लाले चलिरहेको उनको भनाइ छ । हल्लाले चलिरहेको पार्टीको धरातल निकै कमजोर रहेको भन्दै उनले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई नबहकिन अनुरोध गरिन् ।

‘टिरिङ–टिरिङ घण्टीसँग के को डर हो ? हल्ला गर्न सजिलो छ, काम गर्न गाह्रो छ,’ पूर्वमन्त्री समेत रहेकी सचिव अर्यालले भनिन्, ‘हामी उच्च मनोबलका साथ काममा खटिन पर्छ । हामीले जनताको समस्यामा सहयात्रा गर्नुपर्ने छ ।’ सिद्धान्त र लक्ष्य भुलेपछि मनमा विचलन आउने बताउँदै उनले लक्ष्यले बोलाइरहने र सिद्धान्तले डोहोर्‍याइरहने भए पनि पछिल्लो समय राजनीति पद र प्रतिष्ठाको भएकोमा दु:ख व्यक्त गरिन् । व्यक्तिकेन्द्रित राजनीति त्याग्नुपर्ने धारणा उनको छ ।

यस्तै, उनले प्रचण्ड र माधवकुमार नेपाल कम्युनिस्ट नभएको टिप्पणी गरेकी छिन् । उनीहरू नामधारीका मात्रै कम्युनिस्ट भएको बताउँदै उनले भनिन्, ‘जुन गोरुको सिङ छैन, त्यही गोरुको नाम तिखे भने जस्तै हुन प्रचण्ड–माधव ।’

कम्युनिष्ट हुन् कि भनेर एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि असरी रूप देखाएको चर्चा गर्दै उनले अगाडि भनिन्, ‘हाम्रो सहारामा प्रधानमन्त्री बने, बिनाकारण फेरि दक्षिणपन्थी कांग्रेससँग मिल्न गइहाले । मुटु कलेजो बुढानीलकण्ठमा छाडेर केही स्वार्थ लिन यता आएका रहेछन् । आफ्नो स्वार्थ पूरा गर्ने छाँटकाँट नदेखेपछि उतै गए ।’ किस्तीमा राखेर प्रचण्डलाई खान दिदा मात्तिएको उनको टिप्पणी छ ।

अहिले एमालेलाई चारैतिरबाट घेराबन्दी भइरहेको सचिव अर्यालको भनाइ छ । ‘राजनीतिक दलमध्ये एमाले राम्रो हो । विकासवादी पार्टी हो । बलियो पनि छ । जसले राम्रो काम गरेको छ । त्यसलाई ढलाउन खोज्नु स्वाभाविक हो । त्यसैले इमानदार भएर जनताको काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु,’ उनले भनिन् ।

प्रतिक्रिया